नेपाल घटना

दिसामा रगत देखिनु क्यान्सरको संकेत पनि हुनसक्छ : डा. अखिलेश कुमार कश्यप

akhilesh kasyap
Last Updated on

केही समय अघि आन्द्रामा क्यान्सर भएर एक जना मेरा परिचितका बुबाको असामयिक निधन भयो। अर्का एकजनाको दिसामा अप्रत्याशित रूपमा रगत देखिएपछि कारण पत्ता लगाउन आन्द्राको स्त्रि्कनिङ टेस्ट अर्थात् कोलोनोस्कोपी र वायोप्सी (सानो टुक्रा मासु निकालेर जाँच्ने प्रविधि) गर्दा आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो। यस्तो खालको समस्या वंशाणुगत तवरबाट परिवारका अन्य सदस्यलाई पनि आइलाग्न सक्ने हुनाले मैले मेरा ती परिचितहरूलाई एकपटक अस्पताल आएर कोलोनोस्कोपी जाँच गर्न सुझाएँ। तर, कामको बेफुर्सदीले नै होला, उनीहरू आएका छैनन्।

कोलोनोस्कोपी र सिग्मोईडोस्कोपी के हो ? 

colonoscopy process
कोलोनोस्कपी 

मेडिकल भाषामा आन्द्रालाई कोलोन भनिन्छ। सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन्। मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो। यसलाई सीटी स्क्यान र एमआरआईको परिमार्जित रूप मानिन्छ। आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ। आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ। यसले एक मिलिमीटरसम्मको मासु पलाएको खुट्याउँछ।

ठूलो आन्द्रा र मलद्वार बीचको भागलाई सिग्मोईड भनिन्छ। मलद्वारबाट सिग्मोईडमा दूरबीन छिराएर गरिने जाँचलाई सिग्मोईडोस्कोपी भनिन्छ। कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करीब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोईडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ।

दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ। त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्त अल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ। त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ।

न्यू इङ्गल्याण्ड मेडिकल जर्नल अफ मेडिसिन (२००८ सेप्टेम्बर) मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार, कोलोनोस्कोपी गर्दा कुनै खराबी देखिएन भने अर्को पाँच वर्षसम्म आन्द्रामा कुनै पनि खालको क्यान्सर हुने सम्भावना निकै कम छ। यसको अर्थ हो, राम्रो रिपोर्ट आएको पाँच वा १० वर्षको अन्तरालमा कोलोनोस्कोपी जाँच गरे पुग्छ।

आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ। अतः कोलोनोस्कोपी गराउनुभन्दा दुई–तीन दिन अगाडिबाटै प्रशस्त पानीका साथै कम रेसादार खाना र बढी रसिलो चिज खानुपर्छ। चिया वा कफीको अम्मल लिने बानी छ भने दूध नभएको पिउँदा राम्रो हुन्छ। एस्पिरिन वा एस्पिरिनयुक्त औषधिहरू खाइरहेको व्यक्तिले कोलोनोस्कोपी जाँचभन्दा ८–१० दिन अगाडि नै त्यसलाई रोक्नुपर्छ। नत्र, कोलोनोस्कोपीको क्रममा अधिक रक्तस्राव हुन सक्छ।

कोलोनोस्कोपी जाँचको अघिल्लो राति डाक्टरले दिसा पातलो हुने औषधि खान दिन्छन्। कोलोनोस्कोपी गर्दा धेरै नदुखोस् भनेर हल्का लठ्याउने औषधि पनि दिइन्छ। जाँचको क्रममा आन्द्राभित्रको अवस्थाको भिडियो मोनिटरमा हेर्न सकिन्छ। परिवारका सदस्यलाई देखाउन र मेडिकलका विद्यार्थीलाई पढाउन त्यस्तो भिडियोको रेकर्ड पनि राखिन्छ।

कोलोनोस्कोपीको क्रममा आन्द्रा प्वाल पर्ने, अधिक रक्तस्राव हुने र तिनै कारणबाट बिरामीको मृत्यु हुने जोखिम पनि हुन्छ, तर केवल ०.३५ प्रतिशत अर्थात् एकदम न्यून। चिकित्सक अनुभवी परे भने त कोलोनोस्कोपी शतप्रतिशत नै सुरक्षित हुन्छ। त्यसमाथि, जटिल अवस्थामा पुग्नु अगावै असाध्य रोग पत्ता लगाउनु बुद्धिमानी हुने कुरा आफ्नो ठाउँमा छँदैछ।

डा. कश्यप ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपालका अध्यक्ष हुन् ।

स्रोत : सफल नेपाल