६ बैशाख २०८१, बिहीबार

प्रदेशको नाम र राजधानीबारे सांसद विभाजित, हेटौंडा भर्सेज काभ्रे

1578538511

प्रदेश नम्बर ३ को बुधबारको प्रदेशसभाबाट स्थायी राजधानीको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले डेढ वर्षअघि नै प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि बुधबारबाट छलफल सुरु भएको हो ।

प्रदेश ३ को प्रदेशसभामा प्रदेश राजधानीका विषयमा भइरहेको छलफलमा सांसदहरु दुई ध्रुवमा बाँडिएका छन् । बुधबार धारणा राख्ने सांसदले राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने पक्षमा बोलेका हुन् । 

विपक्षी दलका सांसदले नेकपा सचिवालयले राजधानी हेटौंडा बनाउने भनी गरेको निर्णयले प्रदेशसभाको अधिकार हनन गरेको बताए ।नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले राजधानी हेटौंडा र नाम बाग्मती उपयुक्त नभएको भन्दै काभ्रे बनाउन माग गरे ।

सांसद बसुन्धरा हुमागाईले प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी नजिक रहेको काभ्रे प्रदेश राजधानीका लागि उपयुक्त भएको बताए । उनले प्रदेशका ८ जिल्लासँग सीमा जोडिएको काभ्रेको विकल्पमा अन्य कुनै ठाउँ राजधानीका लागि उपयुक्त नभएको जिकिर गरे ।

सांसद चन्द्र लामाले काभ्रे भौगोलिक हिसाबले राजधानीका लागि उपयुक्त रहेको बताए । केही दिनमा हुने मतदानमा काभ्रेको पक्षमा लाग्न उनले सांसदहरुलाई आह्वान नै गरे । ‘मत विभाजन भए काभ्रेलाई राजधानी बनाउने बहुमतको अन्तिम मत सभामुखज्यूको आउँछ’ उनले दावी गरे ।

सांसद विजया श्रेष्ठले हेटौंडा राजधानीका लागि उपयुक्त भएको बताइन् । उनले भनिन् ‘राष्ट्रिय सुरक्षा सहितको बिभिन्न हिसाबले हेटौंडा उपयुक्त रहेको छ ।’

सांसद गीता वाग्लेले हेटौंडाको विकल्प खोज्न नहुने बताइन् । ‘अस्थायी राजधानी राख्दा पनि राष्ट्रियता र राष्ट्रको बारेमा सोचेर यहाँ राखिएको हो अब पनि अन्यत्र सार्न हुदैन’ उनले भनिन् ।

सांसद हिरानाथ खतिवडाले अध्ययन समितिको प्रतिवेदनमा नुवाकोट पनि समेटिएकाले त्यहाँ राजधानी बनाउनुपर्ने बताए । उनले भने ‘ऐतिहासिकताको हिसाबले नुवाकोट पनि उपयुक्त छ ।

सांसद पुकार महर्जनले नेकपा सचिवालयले निर्णय गरिसकेकाले प्रदेशसभामा राजधानीका विषयमा छलफल गरिनु औपचारिकमात्र हुने बताए ।

बुधबार सांसद प्रतिमा श्रेष्ठ, मीना ज्ञवाली, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ विजय सुवेदी, शान्तिप्रसाद पौडेल, रिता माझी, गोमा भुर्तेल र रमा आले मगरले धारणा राखेका थिए ।