नेपाल घटना

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम फेरिँदै (अनिवार्यबाट हट्यो गणित)

high school nepal

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ।

पहिलो चरणमा शैक्षिक सत्र ०७७÷७८ मा कक्षा एक र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ। दोस्रो चरणमा कक्षा दुई, तीन, ६ र १२ को परिवर्तन हुनेछ। त्यसपछि कक्षा चार, पाँच तथा सात, आठ र नौको पाठ्यक्रम क्रमैसँग परिवर्तन हुनेछ। ०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए।

नयाँ पाठ्यक्रम लागू भएपछि विद्यार्थीले कक्षा ११ को पढाइ एउटा विद्यालयबाट सकेर १२ को पढाइका लागि अर्कै विद्यालय रोज्न पाउनेछन्। यसअघि यस्तो व्यवस्था थिएन। नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीले ११ र १२ दुवैमा ६ वटा विषय पढ्नुपर्ने हुन्छ। अहिले ११ र १२ दुवैमा ५÷५ वटा विषय मात्र पढाइ भइरहेको छ।

परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीन वटा अनिवार्य र तीनवटै विषय ऐच्छिक हुनेछ। कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य गरिएको छ। कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ। ऐच्छिक विषयका लागि दुवै कक्षामा गरेर एक सय ६० वटा विषयको पाठ्यक्रम तयार भएको भट्टराईले बताए।

तर, विद्यार्थीले ऐच्छिक विषयमा तीन वटाको ठाउँमा चार वटा पढ्न पनि पाउने व्यवस्था गरिएको छ। भट्टराईले भने, ‘तीन वटा त अनिवार्य भइहाले। ऐच्छिक लिनुपर्ने तीन वटाको ठाउँमा विद्यार्थीले चार वटा पढ्न पनि पाउँछन्। सबै विषयको परीक्षा दिन पाउँछन्। यसलाई क्रेडिट आवरमा गणना गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले निर्णय गर्छ।’

नयाँ पाठ्यक्रमको विशेषता भनेको विद्यार्थीले कक्षा ११ मा एउटा समूहको विषय पढेर कक्षा १२ मा अर्को समूहको विषय पढ्न पाउनु हो।

‘कक्षा ११ मा जीव विज्ञान, भौतिक शास्त्र र रसायन शास्त्र पढेका विद्यार्थीले कक्षा १२ मा गणित, मार्केटिङ र फाइनान्स पढ्छु भने पनि पाउँछ’, भट्टराईले भने, ‘अहिलेजस्तो ११ मा जे पढ्यो १२ मा पनि त्यही विषय पढ्नुपर्छ भन्ने बाध्यता विद्यार्थीमा रहँदैन। तर, ११ र १२ मा एउटै पढ्छु भने पनि पाउँछ।’

परिवर्तित पाठ्यक्रमअनुसार नेपाली र अंग्रेजीको पाठ्यक्रमको पाठ्यभार क्रमशः तीन र चार क्रेडिट आवरको हुनेछ। ऐच्छिक विषय पाँच क्रेडिट आवरको हुनेछ। सामान्यतया ३२ घण्टाको पढाइलाई एक क्रेडिट आवर मान्ने चलन छ।

गणित हटाइएकोमा आपत्ति

कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा विज्ञहरूले आपत्ति जनाएका छन्। गणितलाई ऐच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको हो।

त्रिभुवन विश्वविद्यालय गणित शिक्षा केन्द्रीय विभागका उपप्राध्यापक तथा समाजका सहसचिव डा. जीवन काफ्लेले भने, ‘पाठ्यक्रम विकास केन्द्रले ल्याउन खोजेको पाठ्यक्रम कार्यान्वयनमा ल्याउने हो भने जीव विज्ञान, भौतिक शास्त्र र रसायन शास्त्र पढ्ने विद्यार्थीले नन क्रेडिट विषयका रूपमा सातौँ पत्रका रूपमा पढे पनि गणित विषयलाई मूल विषय बनाएर पढ्न पाउने छैनन्। मूल विषयका रूपमा गणित पढ्न नपाउने विद्यार्थीले स्नातक तहमा रोजेको विषय पढ्न पाउँदैनन्।’

विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउने वहानामा अप्ठ्यारो विषय भन्दै गणितलाई अनिवार्यबाट हटाइएको उनले बताए। अहिलेको पाठ्यक्रमअनुसार गणितलाई अनिवार्य नबनाइँदा स्नातक तहमा इन्जिनियरिङ, सीए, बीबीए, बीबीएस तथा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई समेत अप्ठ्यारो हुने समाजको भनाइ छ।

~ अन्नपूर्ण