
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सने बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा प्रधानमन्त्रीले जारी गरेको भिडियो सन्देशमा धम्कीपूर्ण भाषाको प्रयोग भएको भन्दै नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले प्रधानमन्त्रीको यस्तो गतिविधिप्रति खबरदारी गर्नेलाई धम्क्याउने शैलीको पनि आलोचना गरेका छन् ।
नेता थापाले कारोनाको महामारीका बेला प्रधानमन्त्री ओलीले आफ्नो स्वास्र्थका लागि अनेक खेल खेलेर परिस्थितिलाई बिगारेको र त्यसको खबरदारी गर्नेलाई धम्की दिएको आरोप लगाएका छन्। उनले प्रधानमनत्री ओलीले गर्नुपर्ने काम नगरेको र खबरदारी गर्नलाई धम्की दिएको भन्दै यस्तो धम्कीबाट कोही नतर्सने बताए।
‘महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं। गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं । अनि धम्की ती खवरदारी गर्नेहरूलाई?’, सामाजिक सञ्जाल ट्विटरमा प्रधानमनत्री ओलीलाई मेन्सन गर्दै शुक्रबार नेता थापाले लेखेका छन्, ‘जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट।’
प्रधानमन्त्री ओलीले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको ओलीले आरोप लगाएका थिए। उनले यस्ता प्रयासलाई सफल हुन नदिने चेतावनी समेत दिएका थिए।
‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ’, सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो।’
उनले आप्mना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य नहुने त्यस्ता प्रयासलाई सफल हुन नदिने प्रधानमन्त्रीको भनाइ थियो।