
शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
शनिबार दिउँसो साढे १२ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ३६ सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो ।
शनिबार विहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो ।