
वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ ।
बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।
यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
नवलपरासी पूर्वमा पनि भेटिए कोरोना संक्रमित
नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।