
शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ९ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएका ९ मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकी ८ जना बाँकेका पुरुष रहेका छन् ।
बाँकेका संक्रमितहरू १८ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ भने उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिने भएको छ ।
यसअघि बिहीबार मात्र विभिन्न ठाउँमा ६ जना संक्रमित थपिएका थिए । हाल ३५ जना संक्रमित भने निकाे भइसकेका छन् ।
