
लगातारको वर्षासगै काठमाडौंका अस्पतालहरुमा भाइरल ज्वरो, झाडापखाला, टाइफाइड लगायतका बिरामी बढेका छन् ।
एभरेस्ट अस्पताल प्रा.लि बानेश्वरका मेडिकल अफिसर इन्चार्ज डा. प्रकाश महतका अनुसार यहाँ उपचार गर्न आउनेमध्ये अधिकांश बिरामी भाइरल ज्वरो र रुघाखोकीका रहेको बताएका छन् ।
उनले भने, ‘वर्षामा दूषित पानीबाट सर्ने रोगका बिरामीहरु धेरै आउने गरेका छन् । ज्वरो, टाइफाइड, झाडापखला लगायतका रोगहरु यस अन्तर्गत नै पर्छन् ।’
वर्षामा रोगहरुको मुख्य कारण दूषित पानी बन्ने गरेको उनको भनाइ छ। ‘वर्षामा पानी प्रदूषित हुन्छ, त्यही खाइन्छ र रोगहरु लाग्छ,’ डा. महतले भने, ‘हामीले पानी उमालेर खाने हो भने यस्ता धेरै रोगहरुबाट बच्न सकिन्छ। हामी जारको पानी धेरै भन्दा धेरै युज गर्छौ, जारको पानीमा समस्या छैन भनेर सिधैं खाइदिन्छौं त्यसैले समस्या पार्छ ।’
उनले बालबालिका तथा वृद्धवृद्धामा रोगको जोखिम उच्च रहेको पनि बताए। ‘एभरेस्ट अस्पतालमा सबै उमेर समूहका मानिस आउँछन् । अझ विशेषगरी युवाहरु आउने गरेका छन् । किनकी युवाहरु प्रायः धेरै हिंडडुल गर्छन् र दूषित पानीको सम्पर्कमा पुग्छन् ।’
तर वर्षाको असरबाट ठूलो प्रभाव भने बालबालिका र वृद्धवृद्धाहरुमा देखिन्छ । भाइरल ज्वरो, झाडापखाला लगायतले उनीहरुलाई चाडैं थला पार्ने गरेको छ ।
