
महगी र भ्रष्टाचार बढेको भन्दै सर्वत्र आलोचना भइरहँदा बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जागेको छ । एमालेले आज भ्रष्टाचार र महगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आन्दोलन शुरु गरेको हो ।
काठमाडौंको वसन्तपुरबाट शुरु भएको नेकपा एमालेको जुलुस शान्तिबाटीकामा आएर कोणसभामा परिणत भयो । दिउँसोको झरीकैबीच एमालेले शान्तिवाटीकामा सभा गर्दै गठबन्धन सरकारले महंगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार बढाएको आरोप लगायो ।
सरकारले मुलुकलाई गति दिन नसकेको पनि एमालेको आरोप छ । भ्रष्टाचार र महंगी वृद्धिले मुलुक अघि बढ्न नसक्ने अवस्था आइसकेकाले अब एमाले चुप नबस्ने चेतावनी दिएको छ ।
महंगीले जनजीवन कष्टकर बन्दै जाँदा सरकारको मात्र होइन प्रतिपक्षी दलको मौनतामाथिसमेत प्रश्न उठ्दै आएको थियो । सरकारले निर्वाचनको मिति तोक्ने तयारी थाल्दा महंगी र भ्रष्टाचारविरुद्ध बल्ल प्रतिपक्षीको बोली फुटेको छ ।
महंगी र भ्रष्टाचारविरुद्धको भनिएको आन्दोलनमा एमालेका सबैजसो भ्रातृ तथा शुभेच्छुक संस्थासमेत सहभागी भएका थिए । एमालेले चुनावसम्मै महंगी र भ्रष्टाचारको विषयलाई मुद्दा बनाउने तयारीकै रुपमा काठमाडौंमा भएको प्रदर्शनलाई हेरिएको छ ।





