
निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको निधन भएको छ ।
आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ ।
अमेरिकाको नेसनल हरिकेन सेन्टर (एनएचसी) ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन् ।
होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको निधन भएको छ । शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिँदा चार वर्षीय बालकको पनि निधन भएको अधिकारीहरूले बताएका छन् ।
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको निधन भएको बताएको छ । मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको निधन भएको छ ।
एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ । पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको निधन भएको छ ।