
बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार मृतकमध्ये चार जनाको सनाखत भएको हो ।
दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन। बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो। सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो।
जिप सडकबाट दुई सय मिटर खसेर भीरमा अड्किएको छ । दुर्घटनामा घाइते १३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताए।