
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका अवसरमा प्रधानमन्त्री देउवाले खेलकुदलाई देशको आर्थिक गतिविधिसँग जोड्न निजी क्षेत्रको लगानी आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो ।
खेलाडीको तलब भत्ता, औषधि उपचार, बिमा जस्ता आर्थिक एवं गैह्र आर्थिक सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले खेलकुद पूर्वाधारको विकासका लागि लगानी गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले प्रतियोगिताको दौरानमा ज्यान गुमाएका प्याराग्लाईडिङ्ग खेलाडी प्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी खेलाडीको सुरक्षा प्रबन्ध मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुद प्रतियोगिताले खेलाडीको खेल कौशल सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुहुँदै आगामी वर्षहरुमा नियमित रुपमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।