
जर्मन प्रहरीले इरानमा जारी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बर्लिनमा झन्डै ८० हजार इरानी र उनीहरूका समर्थकहरूले जुलुस निकालेका छन् ।
जर्मनीको राजधानीमा शनिवारको ¥याली इरानी डायस्पोराद्वारा आयोजित अहिलेसम्मकै सबैभन्दा ठुलो भएको मानिन्छ । युरोपभरका इरानीहरूले ‘महिला, जीवन र स्वतन्त्रता’को नारा लगाएका छन् । इरानमा हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन छैटौँ हप्तामा प्रवेश गरेको छ ।
राजधानी तेहरानमा १३ सेप्टेम्बरमा हिजाब खुकुलो लगाएको आरोपमा नैतिकतासम्बन्धी पुलिसले पक्राउ गरेकी २२ वर्षीया महसा अमिनीको हिरासतमै निधन भएको थियो ।
प्रहरीले उनको टाउकोमा लाठीले कुटेको पीडितका आफन्तले बताउँदै आएका छन्, यद्यपि प्रहरीले यसलाई अस्वीकार गर्दै युवतीलाई हृदयाघात भएको जनाएको छ । उनको मृत्युको विरोध र इरानमा हिजाबविरोधी प्रदर्शनको समर्थनमा शनिवार विभिन्न देशका राजधानी सहरमा प्रदर्शन भएका छन् ।
वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी भएको प्राप्त विवरणमा जनाइएको छ । इरानको शक्तिकाली क्रान्तिकारी गार्डविरुद्ध अझै बढी पश्चिमा प्रतिबन्ध लगाउन उनीहरूले माग गरेका थिए । पश्चिमा देशहरूले इरानी कूटनीतिज्ञहरूलाई देश निकाला गर्नु पर्ने प्रदर्शनकारीले माग गरेका छन् ।