
निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।
यस क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका छन् ।
पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन् ।
गणनास्थलमा कांग्रेस समर्थकले नाराबाजी गरेपछि सुरक्षाकर्मी बढाइएको छ ।