
वाग्मती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेका लागि प्रयोगात्मकतर्फ नयाँ नियम लागू गरेको छ । अब सवारी साधनको लाइसेन्स लिन चाहनेले प्रयोगात्मक परीक्षा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने व्यवस्था गरिएको छ ।
यसभन्दा अगाडिको प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भए पनि उत्तीर्ण नहुने प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा परिपत्र भएको छ ।
वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार गरेको परिपत्रअनुसार सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागू भएको छ ।
पाँच महिनाअघि प्रदेशका सबै यातायात कार्यालय प्रदेश यातायात मन्त्री स्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो ।
लिखित परीक्षा भने ६० अंक ल्याउनुपर्ने भएको छ । यसअघि ५० रहेकोमा त्यसलाई बढाइएको मन्त्रालयले ६० गरेको हो ।
कुनमा कति अंक आउँछ ?
१. आठ
ट्रायल परीक्षा दिँदा शुरुमा आठ आकारमा मोटरसाइकल तथा स्कुटर घुमाउनु पर्ने हुन्छ । यसमा परीक्षार्थीले दुई वटासम्म गल्ती गर्दापनि पास हुने अवस्था रहेको छ । पहिलो पटक चालकले आठ आकारमा लगाइएको पहेँले धर्का कोरिएको लाइन छोएमा पनि फेल हुने छैन । तर, यस बापत ५ अंक भने घट्ने छ । यसरी पहेले धर्का छुँदैमा आत्तिनु पर्दैन । यो धर्कालाई क्रस गरेर टायर बाहिर जान नदिइ गुडाई रहनु पर्छ ।
त्यसैगरी आठको घेरा भित्र एक पटक खुट्टा टेक्दा पनि पहिले जस्तो फेल घोषणा हुँदैन । तर, यसमा पनि ५ अंक भने घट्ने छ । आठको अंकभार २० रहेको हुन्छ । यसमा अनिर्वाय १० अंक भने ल्याउनु पर्छ । त्यसैले आठमा चलाउँदा निकै संयम भएर चलाउनु पर्छ ।
२.साघुँरो फलेक
यहाँ परीक्षार्थीलाई गल्ती गर्ने छुट हुने छैन । यहाँ कुनै पनि गल्ती भएको खण्डमा सीधै फेल ठहर हुनेछ । यसमा खुट्टाले भुइँ छोएमा वा फलेक बाहिर सवारीसाधन गएमा ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने छन् । यसका लागि परीक्षार्थीले आठबाट बाहिर निस्किएपछि सीधा अगाडि रहेको साघुँरो बाटोमा विशेष ध्यान दिएर अगाडि बढ्नु पर्छ ।
३. टर्न इन्डिकेटर
यो साँधुरो फलेक पार गर्ने बित्तिकै अगाडि यू टर्न रहेको हुन्छ । यू टर्नमा इन्डिकेटर बाल्न बिर्सेको खण्डमा भने १० अंक घट्ने छ । यसको कुल अंकभार १० पनि १० नै रहेको छ । तपाईंले अगाडि राम्रोसँग पार गरेर आउनु भएको छ भने टर्न इन्डिकेटर वाल्न विर्षेको भरमा नै तपाई फेल हुनु पर्दैन ।
४. ट्राफिक लाइट
यू टर्न सकिएपछि अगाडि ट्राफिक लाइट रहेको हुन्छ । त्यहाँ जेब्रा क्रस समेत रहेको हुन्छ । ट्राफिक बत्तीको इसारा बुझेर अगाडि बढ्नु पर्ने हुन्छ । रेडलाइट बलेको छ भने रोक्नु पर्ने हुन्छ । रातो बत्ती बलेको अवस्थामा अगाडिको रेखा टच नगरी रोकेर बस्नु पर्ने हुन्छ । यहाँ ट्राफिक संकेतको पालना नगरेमा १५ अंक माइनस हुनेछ भने यसको अंकभार पनि १५ नै रहेको छ । अगाडि कुनै गल्ती विना तपाईं आउनु भएको छ भने यहाँको गल्तीका कारण फेल हुनु पर्दैन ।
५. स्पीड ब्रेकर/उबडखाबड
यो स्थानमा १५ अंकको परीक्षा हुन्छ । यसमा परीक्षार्थीले दुई पटकसम्म गल्ती गरेमा फेल हुँदैन । यहाँ एक पटकसम्म खुट्टा भुइँमा टेक्ने र एक पटक स्टार्ट बन्द भएमा ५र५ अंक माइनस हुनेछ । एक पटकभन्दा धेरै गल्ती भएमा मात्र फेल घोषणा हुनेछ ।
६. उकालो/ओरालो
यसको अंकभार २० रहेको छ । यसमा कुनै गल्ती भएमा सीधै फेल घोषणा हुनेछ । उकालो तथा ओरालोमा तोकिएको रेखा कटेर बीचमा रोकिनु पर्नेछ । यहाँ देब्रे खुट्टामात्र टेक्न पाइने हुन्छ । रोकिएको सवारीसाधन उठाउँदा ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ । यसलाई राम्रोसँग ध्यान दिनु पर्छ ।
७. अन्य
सवारीसाधन स्टार्ट गर्नुअघि टायरमा हावा छ वा छैन भनेर हेर्नु पर्छ, लुकिङ ग्लास, ब्रेकको निरीक्षण गर्नु पर्ने हुन्छ । यसो नगरेमा ३ अंक काटिने छ । त्यसैगरी अस्वभाविक गतिमा वा असंयमित भएर सवारी चलाएमा पनि अर्को ३ अंक काटिने छ । समग्रमा ७० अंक ल्याएमा सवारी चालक अनुमति प्राप्त गर्न सकिने छ ।