
कतारमा आयोजना भएको फिफा विश्वकपको फाइनल खेल रोमाञ्चक बन्यो । यस संस्करणको विश्वकपमा फ्रान्सलाई पेनाल्टीमा स्तब्ध पार्दै अर्जेन्टिनाले विश्वकपको ट्रफी उचाल्यो । यो खेलले दुई कुराको संकेत गर्यो । पहिलो लियोनल मेस्सीको झन्डै दुई दशकको सर्वाधिक सफल करियरको अन्त्य र दोस्रो फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको लोभलाग्दो अध्यायको सुरुवात ।
लुसेल रंगशालामा भएको खेलमा मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले निर्धारित समय सकिन १० मिनेटसम्म २-० गोलको अग्रता बनाएको थियो । खेलको अन्त्यतिर केलियन एम्बाप्पेले पुनरागमन गरे । पहिलो हाफमा मार्क भइरहेका उनले टिमलाई अन्तिम अवस्थामा लयमा फर्काए । १९६६ मा सर ज्याफ हर्स्टको ह्याट्रिक गोलमा इंग्ल्यान्डले तत्कालीन पश्चिम जमर्नी हराउँदै विश्वकपको उपाधि जितेको थियो ।
५६ वर्षपछि एम्बाप्पेले ज्याफ हर्स्टको कीर्तिमानसँग बराबरी गरे । विश्वकपका फाइनल खेलहरुमा चार गोल गर्ने एम्बाप्पे पहिलो खेलाडी हुन् । २३ वर्षको उमेरमा विश्वकपमा १२ गोल गर्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । साथै उनले ब्राजिलियन लेजेन्ड पेले र मेस्सीको १२ गोलको कीर्तिमानसमेत बरारबरी गरेका छन् ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टियलले गोल गरेसँगै एम्बाप्पे भावुक हुँदै मैदानमा बसेका थिए । २३ वर्षीय एम्बाप्पेमाथि फ्रान्सको टिम, त्यहाँका नागरिक र विश्वभरका फ्रान्सेली समर्थकको विश्वास थियो । तर उनी विश्वकप जित्न सफल भएनन् ।
एम्बाम्पेले यस संस्करणको विश्वकपमा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जित्न सफल भए । तर योभन्दा केही बढि चाहन्थे । उनी पेलेले झैँ लगातर दोस्रोपटक विश्वकपको उपाधि उचाल्न लक्ष्यका साथ अर्जेन्टिना विरुद्ध मैदानमा उत्रिएका थिए । जुन अपूरो रह्यो । सोहीकारण सर्वाधिक गोलकर्ता पाउने गोल्डेन बुटको उपाधि पाउँदा पनि उनले उत्सव मनाएनन् । उनको अनुहारमा पनि चमक थिएन ।
विश्व फुटबलका महान् खेलाडी मेस्सी अर्जेन्टिनामा थिए । अर्जेन्टिनालाई जितका लागि संघर्ष गर्नुपर्ने मुख्य कारण एम्बाप्पे नै थिए । यो विश्वकपको उनले मात्रै गोल्डेन बुट लिएर गएर तर अर्को कुरा के निश्चित छ भने २०२६ मा उनी विश्वकप नै जित्नका लागि मैदानमा फर्किनेछन् । किनभने उनले जसरी फाइनल खेल खेले, त्यो प्रदर्शन हार मानेर घर फर्किनु नभई हारेर पनि जितेको बाजीगरको भूमिका थियो ।