
कोरोना महामारी सुरु हुनुअघिदेखि नै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका डा. विकास देवकोटालाई हटाएर उनको ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको छ। स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम बिष्टले यो जानकारी दिएका हुन्।
देवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा. गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।
मन्त्री ढकालले बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशकलगायत महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका थिए।
डा. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। डा. देवकोटाले नियमित रुपमा कोरोना स्थितिको अपडेट गराउँदै आएका थिए।
प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड-१९ क्राइसीसी म्यानेजमेण्ट सेन्टर (सीसीएमसी)को जिम्मेवारी दिइएको छ।
त्यसैगरि, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलको स्थानमा डा. रमेश खरेललाई लगिएको छ। डोटेललाई मन्त्रालयमा तानिएको छ।
परोपकार प्रसुती गृह थापाथलीको निर्देशकको जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएकोछ। कोशी अस्पतालको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्।
मन्त्रालय स्रोतका अनुुसार यसैसाता अन्य महाशाखा र अस्पताल प्रमुखको समेत जिम्मेवारी हेरफेर हुने तयारी गरिएको छ।