
राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रतिनिधिसभामा चौथो ठूलो दल रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।
सदनमा २० सिट पाएको पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सातवटा दलको समर्थन रहेकाले पनि लामिछानेको पार्टीलाई दिइने मन्त्रालयबारे भने टुंगो लागेको छैन ।
नेकपा एमालेलगायत दलले आइतबार माओवादी अध्यक्ष दाहाललाई समर्थन दिएसँगै नयाँ सरकार बनेको हो । दाहाल हिजै (आइतबार) राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भए पनि आज सोमबार साँझ चार बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
संसद्मा सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेस आफ्नै हठका कारण अहिले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । प्रतिपक्ष केन्द्रमा मात्र नभइ सातै प्रदेशमा नेतृत्वको अवसर नपाउने अवस्था देखिएको हो ।