
पुष्पकमल दाहाल नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन हुने भएको छ ।
एमालेसहित सात दलीय समीकरणपछि प्रधानमन्त्री बनेका दाहालले सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।
मन्त्रीको सूचीसहित पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शीतल निवास पुगेका छन् ।
आजै अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्न लागेका दाहालले आफूसँगै सात जना मन्त्रीलाई पनि शपथ खुवाउने छन् ।
पहिलो चरणमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी हुने भएका हुन् । श्रेष्ठले उपप्रधानमन्त्री पाउने भएका छन् ।
यस्तै, विष्णु पौडेलको नेतृत्वमा नेकपा एमालेबाट चार जना सरकारमा सहभागी हुने भएका छन् । पौडेलले उपप्रधानमन्त्री र अर्थ मन्त्रालय पाउने निश्चित भएको छ ।
एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री बन्ने भएका छन् ।
यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीबाट उपाध्यक्ष अब्दल खान सरकारमा सहभागी हुने भएका छन् । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको छ।
अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।