
प्रधानमन्त्री पुष्पकमल दाहाल पदभार सम्हालेको दोस्रो दिन मंगलबार कार्यालय नै नगई दिनभर निजी निवास खुमलटारमै व्यस्त रहे । सोमबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवामा भएको भीड हटाउने जनाए पनि मंगलबार बिहानैदेखि उनकै निवासमा शुभकामना दिनेहरूको भीड देखिएको थियो ।
प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद् बैठकबाट निस्कँदै गर्दा सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र तिनमा हुने भीड हटाउने अभिव्यक्ति दिएका थिए ।
तर मंगलबार घाम नझुल्कँदै उनको निजी निवास खुमलटारमा नेता, कार्यकर्ता, उद्योगी, व्यापारी र सरकारी कर्मचारीको भीड लागिसकेको थियो । कार्यभार सम्हालेको दोस्रो दिन उनी कार्यालय गएर राजनीतिक तथा प्रशासनिक कार्यमा सहभागी हुने अपेक्षा गरिए पनि त्यसो भएन । दिनभर उनी निवासमै रहे ।
बिहान उनले निर्वाचन क्षेत्र गोर्खाका जनप्रतिनिधि तथा उद्योगी व्यापारीसँग भेटवार्ता गरे । त्यस लगत्तै फूल माला लिएर शुभकामना दिन गएका पार्टीका नेता कार्यकर्ताले शुभकामना दिए । निवासमै उनले नेपाल उद्योग वाणिज्य संघ र उद्योग परिसंघका टोलीसँग भेटघाट गरेका थिए ।
दुवै टोलीले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्न दाहाललाई आफ्ना अवधारणा बुझाएका थिए । त्यसपछि पालो थियो तीनै तहका सुरक्षा निकायका प्रमुखहरुको । यहीबीचमा केही कलाकारहरू पनि खुमलटार पुगेर शुभकामना दिन भ्याए ।
तर दिउँसो भने आफ्ना परिवारका सदस्यहरूसँग समय बिताउने भन्दै भेटघाटमा रोक लगाइएको सचिवालयले जानकारी दिएको थियो ।
पहिलो चरणमा ८ सदस्यीय मन्त्रीपरिषद् गठन गरिएकोमा ४ जनालाई अझै जिम्मेवारी दिइएको छैन । सामान्यतया एक प्रधानमन्त्रीको कार्यकाल ५ वर्षको लागि हुन्छ तर दाहालसँग काम गर्ने जम्मा २ वर्ष मात्रै छ ।