
ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् ।
फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् ।
‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ गएराति २ बजे गम्भिर अवस्था भएकै वेला खबर पाएपछि प्रहरी परिचालित भएको थियो ।
हाल अपराधस्थलमा रहेका ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको बताए । उनले भने, ‘घरकै कम्पाउण्डमा भएको घटना हो, हामी अनुसन्धान गरिरहेका छौं ।’
मृतकको घाँटी र हातमा चोट छ । त्यो चोट बरामद हतियारकै हो÷होइन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरी अधिकृतहरु बताउँछन् ।
मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हालसम्म घटनामा कोही पनि पक्राउ परेका छैनन् ।