
संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा दिएको अभिव्यक्ति लाई लिएर राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ती जारी गरेको छ ।
सो विज्ञप्ती मार्फत जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई एकहप्ताभित्र आवश्यक कानूनी कारवाही गर्न संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीसँग माग गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको विज्ञप्तिमा ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ ।’ भनिएको छ ।
नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले पुन:अवगत गराएको छ ।
विज्ञप्तिमा थप “संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघि संविधानको संरक्षण र पालना गर्ने सपत खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।” भनिएको छ ।
विज्ञप्ति संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी गरिएको छ ।
