
“घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुने गरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो”, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजङ्ग गुरुङले भन्नुभयो, “आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।”

“जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकी समेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो”, उहाँले भन्नुभयो ।
सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन् । शवहरू केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोँचमा नै खसेका थिए ।
आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँ गाउँको खोँचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबिचको नयाँ गाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो ।

दुर्घटना स्थल नजिकै नयाँ गाउँ निवासी विष्णुहरि सापकोटाले भन्नुभयो, “उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोँच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुँइमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो”, उहाँले भन्नुभयो ।
“दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोँचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइरह्यो” सापकोटाले भन्नुभयो । सेती खोँचको पूर्वी भागका एक दर्जन घर विमान चालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थानीय प्रीति गुरुङ गर्नुहुन्छ ।
अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भन्नुभयो, “हामी त घाम तापेर बसिरहेका थियौँ, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो”, उहाँले भन्नुभयो, “त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भुँइमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौँ ।”

विमान कोल्टे परेको दुई तीन मिनेटमै सेतीको खोँचमा ठोक्किएको उहाँले जानकारी दिनुभयो । विमान खोँचमा खसेकाले बस्ती जोगिएको उहाँको भनाइ थियो । “कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो”, मनिषाले भन्नुभयो, “धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।”
आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उहाँले बताउनुभयो । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उहाँको भनाइ थियो । “एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौँ तर त्यसले के हुन्थ्यो ?” उहाँले भन्नुभयो, “कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौँ । केही छिनमा बोरिङको ट्याङ्कर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरू बाँच्छन् कि भन्ने भयो ।”
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरिएको थियो । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चार सदस्य थिए ।