
दुई पटकसम्म निर्वाचन हुँदा कसैको पनि बहुमत नआएपछि सुदूरपश्चिम प्रदेशमा आज तेस्रोपटक सभामुख चयनका लागि निर्वाचन हुँदैछ ।
सभामुख चयनका लागि बिहान १० बजे प्रदेशसभा बैठक बस्दैछ ।
यसअघि पुस २८ र ३० गते भएको निर्वाचनमा सभामुखका उम्मेदवार रहेका माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले बहुमत ल्याउन सकेनन् । दुई पटक भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि संवैधानिक संकट उत्पन्न हुन सक्ने अवस्था आएकाले आज पुनः मतदान हुन लागेको हो ।
पोखरामा भएको विमान दुर्घटनाका कारण हिजो सरकारले देशभर शोक बिदा दिएको कारण हिजो (सोमबार) को लागि तय भएको बैठक स्थगित भएको थियो ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामखु निवार्चित हुन २७ मत आवश्यक पर्दछ । तर, यस प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेका हुन् ।
आजको बैठकमा पनि नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको खण्डमा सभामुख चयन नहुने अवस्था छ । पार्टीले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै नागरिक उन्मुक्तिले मतदानमा सहभागी नभएको जनाएको छ । यद्यपि, आज भने पार्टीले कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन सक्ने जानकारी दिएको छ ।
संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र उपसभामुख चयन गर्नु पर्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो ।