
प्रतिनिधिसभा बैठकमा उपसभामुखको समर्थक र प्रस्तावकहरुले शनिबार आ-आफ्ना धारणा राखे । बैठकमा प्रतिपक्षी दलबाट नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले बोल्ने पालो पाए । उनले रोस्टममा उभिएर सरकारमाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धावा बोलेको आरोप लगाए ।
संविधानले नै नचिनेको ‘उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि धावा बोल्ने काम गरिरहेको भन्दै सांसद पाण्डेले असन्तुष्टि जनाए । सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश जनाए ।
संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरे पनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको भन्दै आलोचना गरे । ‘संसदको पहिलो दिन, जुन दिन यो संसदलाई शुभकामना दिनुपर्ने दिन थियो । त्यो शुभकामना दिनुपर्ने दिनमा हाम्रो संविधानमाथि आक्रमण गर्ने काम जिम्मेवार नेताहरुबाट भएको छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्रीबाटै भएको छ । किनभने यो ठाउँमा उभिएर आफूलाई संविधानले नचिनेको, नथाहापाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर त्यसको नाताले जुन किसिमले कार्यपालिकाभन्दा ममाथि छु कि प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति हामीले उहाँको त्यो बुझ्न सकिन्छ ।’
उनले संविधानमै कार्यपालिकामा प्रधानमन्त्रीभन्दा माथि कोही नरहेको पनि जनाए । ‘हामी स्पष्ट छौं- प्रधानमन्त्रीभन्दा ठूलो कार्यपालिकामा कोही हुन सक्दैन हाम्रो संविधानअनुसार । कार्यपालिकाभन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौं । अदालतले भन्यो । दुई-दुईपटक अदालतले भन्यो । अदालतको भनेको विषयलाई पनि अन्तका नजिरहरु देखाएर, अन्तका दृष्टान्तहरु देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो,’ पाण्डेले भने, ‘प्रतिनिधिसभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो । त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिह्न उठाउने काम भयो ।’
उनले न्यायपालिकाको नजिरहरुलाई पनि सबैले सम्मान गर्नुपर्ने बताए । ‘त्यतिमात्रै होइन न्यायपालिकाका नजिरहरुलाई हामी सबैले सम्मान गर्नुपर्छ । न्याय पालिकाको नजिरलाई कसैले पनि अपमान गर्न मिल्दैन । न्यायपालिकाका नजिरहरुलाई उल्लंघन गर्दै प्रतिनिधिसभा विघटनको जुन असंवैधानिक कुरा भयो । त्यसले गर्दा हामीलाई चिन्ता लागेको छ,’ उनले भने ।
सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणासमेत राखे । नेपाली कांग्रेसले प्रतिपक्ष दलहरुको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ ।