
सरकारले विदेशबाट नेपाल फर्किन चाहाने नेपालीहरुलाई लक्षित गर्दै हवाइ भाडा दर तोकेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न अपनाइएको लकडाउनका कारण प्रभावित नेपालीहरु स्वदेश फर्किदा लाग्ने भाडा दर तोकिएको हो ।
अभर परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।
ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर (अर्थात करिब ६१ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ ।
तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
दूताबास स्रोतले भन्यो, ‘सरकारले तोकेको ६१ हजार भाडा धेरै महंगो भयो, वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न सक्दैनन् । त्यसैले हामीले ११५ ओमानी रियल (करिब ३४ हजार नेपाली रुपैयाँ) मै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं । यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन ।’
ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ । र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले बतायो ।
ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।
त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन् । उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ ।
साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस् दूताबासको सूचना र सरकारले तोकेको भाडादर


कुवेतबाट ३०२ जना नेपाली स्वदेश फर्किए
कुवेतबाट ३०२ नेपाली स्वदेश फर्किएका छन्। जजिरा एयरवेजको विमानले बिहीबार बिहान र दिउँसो गरेर कुवेतबाट नेपालीको उद्धार गरेको हो।
कुवेत सरकारको सहयोगमा ती नेपाली स्वदेश फर्किएका हुन्। पहिलो चरणमा १६१ जना नेपाली महिला कामदार कुवेतबाट नेपाल ल्याइएको थियो भने दोस्रो चरणमा १४१ जना फर्किएका छन्।
कुवेतबाट फर्किएको टोलीलाई नेपाली सेनाले होल्डिङ सेन्टरमा पुर्याएको छ । त्यहाँबाट उनीहरुलाई प्रदेशअनुसार क्वारेन्टिनमा लग्ने व्यवस्था गरिने छ ।
यसअघि युनाइटेड अरब इमिरेट्सको पहलमा १६८ जना नेपाली स्वदेश फर्किएको थियो। सरकारले गत सातादेखि विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत् नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ।
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वादेश फर्काउन नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स साथै विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने निर्णय बुधबार गरेको थियो । पर्यटन मन्त्रालयले गरेको निर्णय अनुसार दुई सातामा ६७ वटा उडान हुनेछन् ।