
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरु हुन्छ।
प्रत्येक वर्ष १/१ वटा जनावर तथा जीवजन्तुको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदाइ गरी बिरालो वर्गमा प्रवेश गरेको छ । ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस वर्ष आइतबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायले यसपटक पनि काठमाडौंको टुँडिखेलमा तीन दिन ल्होछार महोत्सव आयोजना गरेको छ । माघ ६ गतेदेखि जारी महोत्सव आज मुख्य दिन मनाएर समापन हुँदैछ ।
महोत्सवमा तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरूलाई स्टलमा राखिएका छन् ।
तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्पो तथा लामा गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरूद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फु सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरू भइरहेका छन् ।
घेदुङ लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै सोनाम ल्होछार पर्वलाई काठमाडौँको टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउँदै आइरहेको छ ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्दैछ ।
बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने छ। यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ। यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ।