
आज साँझदेखि सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले देशका विभिन्न भू-भागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बिहान र दिउँसो भने देशभर मौसम सामान्यत: सफा रहने छ ।
आज राति मौसम बदली भइ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।
यसैगरी गरी भोलि (मंगलबार) र पर्सि (बुधबार) पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
बुधबार राति प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।