१६ बैशाख २०८२, मंगलवार

सत्तारुढ दलका सांसदबीच संसद् बैठकमा जुहारी

Parliament house
फाइल फोटो

संसदीय व्यवस्थाका आलोचक राजनीतिशास्त्रीहरु भन्ने गर्छन्- स‌ंसद् गफ गर्नेहरुको अखडा हो ! पछिल्ला दिनमा प्रतिनिधिसभाको बैठक खास मुद्दामा भन्दा पनि आपसी भनाभनमा केन्द्रित देखिन थालेको छ । आजको बैठक त झनै सत्तारुढ दलका सांसदबीचको जुहारीमै बित्यो ।

संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच जुहारी चलेको हो । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । एमाले सांसद रघुजी पन्तले संविधानविपरीत मन्त्रीहरूले अभिव्यक्ति दिइरहेको भन्दै प्रश्न उठाए ।

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषदमा बसेर संविधानको मूल्य मान्यताविपरीत हुने टिप्पणी स्वीकार्य नहुने चेतावनी दिए ।

राप्रपाका सांसद धवलशमशेर राणाले भने माओवादी र एमालेका सांसदको प्रतिवाद गरे । सांसद राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न चेतावनीसमेत दिए । राप्रपाका अर्का सांसद ज्ञानेन्द्रबहादुर शाहीले हिन्दु राष्ट्रको वकालत गरे ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले संविधान सम्झौताको दस्ताबेज भएको भन्दै संविधानको मर्म र भावनालाई सबैले मान्नुपर्ने तर्क गरे । संविधानको व्यवस्थाविरुद्ध बोल्नु राजनीतिक बेइमानी भएको जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवको जिकिर छ ।

सांसद् अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको समस्यासमेत सुनाए । बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको औपचारिक जानकारी गराएका थिए ।

    सम्बन्धित समाचार...