
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुृवन अन्तराष्ट्रिय विमानस्थलमा चित्त बुझ्दो सुधार नभएको बताएका छन् ।
शनिबार विमानस्थलको अनुगमनमा पुगेका मन्त्री किराँतीले विगतको तुलनामा केही हदसम्म विमानस्थलको सुधार भएपनि चित्त बुझ्दो नभएको बताएका हुन् । साथै उनले थप सुधारका लागि निर्देशनसमेत दिएका छन् ।
मन्त्री बनेपछि दोस्रो पटक विमानस्थलको निरीक्षणमा पुगेका किराँतीले विमानस्थलमा सुधार गर्नुपर्ने धेरै काम रहेको र सोही बमोजिम निर्देशन दिइएको बताए ।
‘तुलनात्मक रुपमा सुधार भएको छ तर चित्तबुझ्दो सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जतिपनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु,’ मन्त्री किराँतीले भने ।
गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किरातीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।