
लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्यको उपनिवार्चन हुँदैछ ।
उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
राष्ट्रिय सभाको रिक्त एक सदस्यका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सत्तारुढ दल नेकपा एमालेका कुमार दसौदी, प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले राष्ट्रिय सभाको उपनिर्वाचनमा भने आफ्नै उम्मेदवार उठाएको छ ।
एमालेका राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो ।
लुम्बिनीमा कुल मतदाता संख्या ३०५ रहेको छ । निर्वाचनमा प्रदेशमा रहेका स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।
लुम्बिनीमा स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाताको संख्या २१८ र प्रदेशसभा सदस्यहरुको संख्या ८७ रहेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेशसभा सदस्यतर्फ एमालेको २९, नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति र राप्रपाको ४/४ सिट रहेको छ भने लोसपा, जसपा र जनमत पार्टीले ३/३ सिट जितेका छन् ।