
अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी प्रस्तुत गर्ने भएका छन् ।
फिफा विश्वकपको एक सय वर्ष पुग्ने अवसरमा यो विश्वकपलाई विशेष मानिएको छ । चार दक्षिण अमेरिकी राष्ट्रहरू विश्वकपलाई फुटबलको जन्म भएको ठाउँमा फर्काउने अभियानमा छन् ।
प्रतियोगिता आयोजनाका लागि स्पेन र पोर्चुगलले पनि संयुक्त दाबी गरेका छन् भने मोरक्को र साउदी अरबले दाबी गर्ने सम्भावाना छ ।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न सहरमा हुने पक्का भइसकेको छ ।
सन् २०३० को विश्वकपलाई विश्वकपको एउटा संस्करण मात्रै नभइ एक सय वर्षको उत्सवका रुपमा मनाउनु पर्ने दक्षिण अमेरिकी फुटबल संघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले बताएका छन् । साथै आफूहरुभन्दा पहिले आएका, महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाले पनि यसलाई दायित्वका रुपमा लिने विश्वास अध्यक्ष डोमिन्गुएजको रहेको छ ।
दुई पटकको विजेता उरुग्वेले सन् १९३० मा देशको राजधानी मोन्टेभिडियोमा आयोजना भएको पहिलो विश्वकप आयोजकका रूपमा जितेको थियो।
सन् १९७८ को आयोजक अर्जेन्टिनाले सन् २०२२ मा कतारमा तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । सन् १९६२ मा चिलीले पनि आयोजना गरेको थियो।