९ बैशाख २०८२, मंगलवार

भण्डारीलाई मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिने

chandra bhandari

ग्यास सिलिन्डर विस्फोट हुँदा सिकिस्त घाइते भएका नेपाली कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिने भएको छ ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका लागि लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जानकारी दिए ।

मन्त्री गिरी भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका थिए । सघन उपचार कक्षमा उपचाररत भण्डारीसँग भेट गरेको जानकारी दिँदै मन्त्री गिरीले चिकित्सकको सल्लाह अनुसार भारत लैजानु पर्ने अवस्था आएको बताए ।

भण्डारीले आफूसँग बोल्ने प्रयास गरेको र आफूलाई नेपालमै उपचार गर्न संकेत गरेको मन्त्री गिरीले बताए । भण्डारीको उपचारमा सरकारको तर्फबाट गर्नु पर्ने आवश्यक सहयोग हुने उनले बताए ।

केही प्राविधिक प्रक्रिया पूरा भएपछि अबको केही घण्टाभित्रै भारत लगिने मन्त्री गिरीले जानकारी दिए ।

बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

आमाको पनि कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । आमाको अवस्था जटिल भएको र उनलाई भने भारत लैजाने विषयमा छलफल नभएको मन्त्री गिरीले जानकारी दिए ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका छन् । यस्तै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता शेखर कोइरालालगायतका नेताहरु अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् ।

अस्पताल परिसरमा शुभचिन्तकहरुको भीड लागेको छ ।

    सम्बन्धित समाचार...