
प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जना कैदीको सजाय माफी गरेकी छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले निलम्बित सांसद अरुणकुमार चौधरीलगायत ३ सय ९५ जना कैदीलाई माफी दिएकी हुन् । राष्ट्रपतिबाट कैद माफी भई प्रजातन्त्र दिवसको दिन छुट्ने कैदीमा ओखलढुंगाका उज्जन श्रेष्ठ हत्याकाण्डका दोषी पुष्कर गौतम पनि छन् ।
सोही हत्या मुद्दामा दोषी ठहर भई कैदमा रहेका बालकृष्ण ढुंगेललाई २०७६ मै माफी दिइएको थियो । व्यक्ति हत्याको सजाय पाएका व्यक्तिलाई पनि सरकारले आममाफी दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको पनि कैद सजाय माफी भएको छ । १३ वर्षअघिको आगजनीको घटनामा अदालतबाट दोषी ठहर भई कैद र जरिवाना भुक्तान गर्न बाँकी चौधरी प्रतिनिधिसभा सदस्य बनेपछि पक्राउ परेका थिए । सजाय माफी गर्दा पीडितलाई भने जानकारी नै नगराई गुपचुप राख्ने गरिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार चालचलन सुधार भएका, उमेर तथा शारीरिक अवस्था कमजोर भएका र गम्भीर प्रकृतिका मुद्दामा कैदमा नभएको व्यक्तिलाई माफी दिन सकिने छ । संहिताअनुसार भ्रष्टाचार, यातना, जबरजस्ती करणी, विस्फोटक पदार्थ, अपहरण, मानव बेचबिखन तथा ओसार पसार लगायत मुद्दाका कैदीको भने कैद माफी हुँदैन ।
पछिल्लो समय सरकारले गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस तथा दसैँ जस्ता अवसर पारी वर्षको ३ पटकसम्म कैदीलाई माफी दिँदै आएको छ ।
