१३ बैशाख २०८२, शनिबार

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक, ३ सांसदको नाम समेटिएन

nirbachan aayog nepal

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको नामावलीमा कुल ८८१ जनाको नाम समावेश छ ।

संघीय संसद सदस्य ३३१ जना र प्रदेशसभा सदस्य ५५० जनाको नामावली प्रकाशन गरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यले भाग लिन पाउँछन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको नामावलीमा प्रतिनिधिसभाका तीन सांसदको नाम छैन । सर्वोच्च अदालतको आदेशले सांसद पद खारेज भएका रवि लामिछाने, निलम्बनमा परेका अरुणकुमार चौधरी र टेकबहादुर गुरुङको नाम समावेश छैन ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी दिन आज बिहान ११ देखि भोलि मध्याह्न बजेसम्म समय दिइएको छ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजुरी उपर छानविन र कारबाही भोलि मध्याह्न १२ देखि फागुन १२ गते दिउँसो ३ बजेसम्म हुने छ । सोही दिन १२ गते ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् ।

यही फागुन २५ गते नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ ।

aayog suchana

    सम्बन्धित समाचार...