
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित मुलुकहरूको आर्थिक विकासमा विकसित मुलुकले चालेका कदम प्रभावकारी नभएको बताएका छन् ।
कतारको दोहामा भोलिदेखि हुने अल्पविकसित मुलुकहरूको पाँचौँ सम्मेलनमा सहभागी हुन पुगेका श्रेष्ठले अल्पविकसित देश गरिबी र अशिक्षाको दुष्चक्रबाट कसरी उम्कने भन्ने ठूलो प्रश्न खडा भएको बताए ।
जलवायु परिवर्तन, हरित अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा विज्ञानका क्षेत्रलाई सम्बोधन गर्न विकसित मुलुकहरूको सहायता जरुरी रहेको उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले विश्व आपूर्ति सञ्जालमा देखिएको संकटको सामना गर्न विश्व साझेदारी अपरिहार्य रहेको दोहोर्याए ।
नेपालले राष्ट्रिय योजनामा अल्पविकसित मुलुकका लागि तय गरिएका कार्ययोजना समावेश गर्दै आएको उल्लेख गर्दै उनले सन् २०२६ सम्म नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र त्यसबाट पछि नफर्कने बताए ।
भोलि अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपाल, बंगलादेश र लाओसका प्रतिनिधिहरूले आ-आफ्नो मुलुकका आर्थिक एजेन्डा प्रस्तुत गर्ने कार्ययोजना छ ।