
विराटनगरमा कोशी नामकरणविरुद्ध आन्दोलनरत प्रदर्शनकारी प्रहरीबीच झडप भएको छ ।
सरकारले कोशीमा प्रदेश नामकरणपछि उत्पन्न समस्या समाधान गर्न वार्ता समिति बनाएर आन्दोनरत पक्षसँग संवाद प्रकृया अगाडि बढाइरहेकै बेला मंगलबार विराटनगरमा झडप भएको हो । सरकारले वार्ता गरी शान्तिपूर्ण तवरले समस्या समाधान गर्ने प्रकृया अगाडि बढाए पनि आन्दोलनकारीले प्रदर्शन रोकेका छैनन ।
आन्दोलनकारीले प्रदर्शन जारी राखेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका छन् ।
प्रदेशको नाम कोशी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा ५ चैत गते घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको हो ।
मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।