
गुन्डा नाइके चक्रे मिलन (मिलन गुरूङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जस्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको हो ।
टिकटकमा मिलनको बडिगार्डका रुपमा बोगटी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए । भिडियोमा चक्रेसँगै अन्य १०-१२ जना युवक देखिन्छन् । तीमध्ये बोगटीले हतियार बोकेका हुन् ।
सो भिडियोका आधारमा बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरका अनुसार बोगटीको साथबाट प्वाइन्ट टुटु हतियारसमेत बरामद गरिएको छ ।
“चक्रे मिलनको बडिगार्डको रूपमा हिँडेको बोगटीलाई हतियारसहित हिजो बेलुकी पक्राउ गरेका छौँ,” एसपी राठौरले भने, “हतियार इजाजत प्राप्त हो । तर, पनि खुलेआम बोकेर हिँड्न पाइन्न । त्यसैले पक्राउ गरेर हिरासतमा राखेका छौँ ।”
राष्ट्रिय युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनस्थलबाट उनलाई पक्राउ गरिएको थियो । बोगटी बाँकेको चिसापानीका रहेको बताइएको छ ।