
आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग बहुचर्चित मदिरा घोटाला काण्डमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई)ले सोधपुछ गरिरहेको छ ।
यसै मामिलामा दिल्लीका तत्कालीन उपमुख्यमन्त्री मनीष सिसोदियालाई सीबीआईले गत फेब्रुअरी ६ मा गिरफतार गरेको थियो । गिरफतारीपछि पदबाट राजिनामा दिएका सिसोदिया अहिले जेलमा रहेका छन् । यस मामिलामा सम्पत्ति शुदि्धकरण सम्बन्धी विशेष वित्तिय जांच एजेन्सी प्रवर्तन निदेशालय इडीले पनि अनुसन्धान गरिरहेकोछ ।
सीबीआइ समक्ष बयान दिन केजरीवाल आइतबार विहान ११:१० बजे सीबीआइको मुख्यालय पुगेका थिए । केजरीवाललाई गिरफतार गर्न सकिने आशंकाकाबीच पार्टीका दिल्ली संयोजक गोपाल रायले पार्टी कार्यालयमा आपतकालीन बैठक बोलाएका छन् ।
सीबीआई मुख्यालयमा हाजिर हुनुअघि केजरीवालले केन्द्रमा सत्तारुढ बीजेपीले आफुलाई गिरफतार गर्ने आदेश दिएको हुन सक्ने आशंका जनाएका थिए । आम आदमी पार्टीले बीजेपीले आफना विपक्षिलाई तह लगाउन सरकारी जाँच एजेन्सीको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएकोछ । उता बीजेपीका नेताहरुले भने भ्रष्टाचार विरुद्धको नारा दिएर स्थापित पार्टी स्वयं नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै आएका छन् ।
दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रिको सम्पूर्ण अधिकार नीजी क्षेत्रलाई सुम्पिने गरी नयां मदिरा नीति ल्याएको थियो । मदिरा व्यवसायीलाई अनुचित सहुलियत दिएवापत आम आदमी पार्टीले दक्षिण भारतको मदिरा व्यवसायी समूहसँग कम्तिमा १ सय करोड रुपियां घुस लिएको र सो रकम गोवा निर्वाचनमा खर्च गरिएको आरोप लाग्दै आएको छ । उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड घाटा भएको प्रवर्तन निदेशालयको दाबी छ । यस मामिलामा तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावकी छोरी कविताको नाम पनि मुछिएकोछ ।
दिल्लीका लेफ्टिनेन्ट गर्भनरले उक्त नीति कार्यान्वयनमा भएको दुरुपयोगको सीबीआईबाट छानबिन गराउन आदेश दिएपछि दिल्ली सरकारले गतवर्षको जुलाई ३१ मा सो नीति खारेज गरी पुरानै नीति लागू गरेको थियो ।