९ बैशाख २०८२, मंगलवार

ऊर्जा क्षेत्रमा लगानी विस्तार आवश्यक छ : प्रधानमन्त्री दाहाल

prachanda urja

काठमाडौंमा आठौं ‘पावर समिट-२०२३’ सुरु भएको छ । पावर समिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

सरकारले नीतिगत र व्यवहारिक रुपमै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको उल्लेख गर्दै धेरै नेपाली अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको जनाए । देशका सबै जनतालाई बिजुली उपलब्ध गराउन ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तारमा जोड दिइरहेको दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले प्रशारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरेका छन् । स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको उनले औंल्याए ।

‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउन उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौं,’ उनले भने, ‘देशका सबै नागरिकलाई विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौं । प्रशारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको छ ।’

प्रधानमन्त्री दाहालले धेरै विद्युत् खपत गर्नसक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरे ।

    सम्बन्धित समाचार...