
प्रधानन्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि निष्कर्षविहीन भएको हो ।
बैठकले कुनै निर्णय नगरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायत कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै नयाँ सरकार गठनपछि पहिलो पटक संवैधानिक परिषद्को बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा रानामगर र उपप्रधानमन्त्री एवं कानुनमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
लामो समयदेखि न्यायलयले नेतृत्व पाउन नसक्दा कायममुकायमको भरमा चल्दै आएको छ । प्रधानन्यायाधीश नियुक्तिका लागि तीन दलका शीर्ष नेताबीच सहमित भएको थियो ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो।