१३ बैशाख २०८२, शनिबार

आगामी बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री

pm tanahu

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताउनुभएको छ ।

तनहुँको डुम्रे बजारमा क्षेत्र नं. १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्ने गरी नयाँ बजेटको तयारी गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्ने गरी काम गर्छौँ ।”

प्रधानमन्त्री प्रचण्डले निकै ठूलो मेहनतपछि वर्तमान गठबन्धन फेरि एकताबद्ध भएर अघि बढेको बताउनुभयो ।

“अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ । चोरी पैठारी रोक्न निकै मेहेनत गरिएको छ । राजस्व सङ्कलनमा सुधार आएको छ । भ्रष्टाचार र बेथिति रोक्न धेरै मेहेनत गरिएको छ । रेमिट्यान्स बढेको छ । विकट पहाडी जिल्लामा समेत पाठ्यपुस्तक पुगेका छन् । यी सबै कुरा विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्ने अठोटसहित गरिएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यससम्बन्धी जारी कार्यविधि खारेज गरिएको प्रसङ्गबारे प्रधानमन्त्रीले भन्नुभयो, “हिजोको क्याबिनेटले निकै महत्वपूर्ण निर्णय गरेको छ । त्यो निर्णय धेरै गहिरो छ । त्यसबाट ठूल–ठूला गफ हाँक्नेहरूको असली नियत देखिएको छ ।”

चुनावी सभालाई पूर्व प्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।

    सम्बन्धित समाचार...