
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।
चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार पाँच वर्ष चल्ने दाबी गर्दै जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताए ।
चितवन – २ बाट उपचुनावमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनले सरकारमा छिटै सामेल हुन आग्रह गरे ।
यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकाले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।
आइतबार मात्रै लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । प्रतिनिधिसभाको उपनिर्वाचन सकिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चाहना व्यक्त गरेको छ । यसअघि गृह मन्त्रालय नपाएपछि सरकार छाडेको रास्वपाले औपचारिक रुपमा मन्त्रालयहरुमा आफ्नो दाबी सार्वजनिक नगरे पनि उसलाई सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका अन्य दलले आन्तरिक छलफल सुरु गरेका छन् ।
आठपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको अवस्थामा रास्वपाको चाहनाले प्रधानमन्त्री दाहालमाथि थप दबाब सिर्जना गरेको छ ।
गृह मन्त्रालय नपाएपछि माघ २३ मा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले फेरि सभापति रवि लामिछाने पुन: निर्वाचित भएर आएपछि सरकारमा सहभागी हुन खोजेको हो । रास्वपालाई सरकारभन्दा बाहिर राख्दा अर्को गठबन्धन बन्ने र आफू असुरक्षित हुने प्रधानमन्त्री दाहालको बुझाइ छ ।