
एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईले नेपाललाई ११८ रनको मध्यम लक्ष्य दिएको छ ।
सोमबार वर्षाले प्रभावित फाइनलको आज भएको बाँकी खेलमा यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर ११७ रनको योगफल बनायो ।
कीर्तिपुरस्थित टीयू मैदानमा हिजो स्थगित फाइनल खेल आज २७ ओभर १ बलमा ९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाट अगाडि बढेको थियो ।
नेपालका ललित राजवंशीले ४ विकेट लिए । हिजो ३ विकेट लिएका उनले आज यूएईको अन्तिम विकेट लिएका हुन् । यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट हात पारेका छन् । सोमपाल कामी र गुल्सन झा १ – १ विकेटमा छन् ।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । फाइनलमा पुगेका नेपाल र यूएईले एसीसी इमर्जिङ एसिया टिम्स कपमा भने स्थान बनाइसकेका छन् ।
आज पनि कीर्तिपुर मैदानमा नेपाली दर्शकको बिहानैदेखि उल्लेख्य संख्यामा उपस्थिति छ । आजको खेल हेर्न मैदानमा दर्शकलाई नि:शुल्क प्रवेश दिइएको छ ।