१२ बैशाख २०८२, शुक्रबार

पक्राउ पुर्जी जारीपछि पूर्वमन्त्री टोपबहादुर रायमाझीले भने- ‘कुनै संलग्नता छैन’

top

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन् । प्रहरीले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनले यो प्रकरणमा आफ्नो संलग्नता इन्कार गरेका हुन् ।

गृहजिल्ला अर्घाखाँची पुगेका रायमाझीले सन्धिखर्कमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले कुनै गल्ती नगरेको जनाए । प्रहरीले पक्राउ पुर्जी जारी गरेको सामाजिक सन्जालमार्फत थाहा पाएको भन्दै उनले आफू आश्चर्यमा परेको धारणा राखे । ‘मलाई पक्राउ पुर्जी जारी गरेको कुरा थाहा छैन,’ रायमाझीले भने, ‘सामाजिक सन्जालमा आएको छ, काठमाडौं गएर बुझ्छु ।’

छोराविरुद्ध पनि पक्राउ पुर्जी काटेको भन्ने सुनेको भन्दै उनले छोरा सन्दीपका नाममा चार वर्ष अघिको बैंकको चेक नक्कली रहेको दाबी गरे । चेक नसाटिएको र पुरानो रहेकाले यसमा कुनै तथ्य नरहेको पनि उनको भनाइ छ । भुटानी शरणार्थीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न आफूहरु प्रयासरत रहेको भन्दै उनले सरकारमा छँदा महत्त्वपूर्ण निर्णयहरु गरेको जनाए । उनीहरुका समस्या समाधान गर्नेमा संलग्नता रहे पनि नक्कली काममा आफ्नो कुनै सरोकार नरहेको उनले दाबी गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका रायमाझी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा अथितिका रुपमा सहभागी भएका छन् । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा उपस्थित थिए । रायमाझी आजै काठमाडौं फर्किएका छन् ।

    सम्बन्धित समाचार...