
अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी निलम्बनपछि पहिलो पटक पेरिस सेन्ट जर्मन (पीएसजी) को सुरुवाती एघारमा परेका छन् ।
उनी फ्रेन्च लिग वानअन्तर्गत आज राति हुने एसी आजाक्सियोविरुद्ध मैदान उत्रनेछन् । पीएसजीका प्रशिक्षक क्रिस्टोफरले मेस्सीले खेल्ने जानकारी दिएका हुन् । आफूले मेस्सीसंग कुरा गरेको भन्दै प्रशिक्षक क्रिस्टोफरले उनी एकदमै शान्त र खेल्नका लागि आतुर रहेको उल्लेख गरेका छन् ।
क्लबलाई जानकारी नदिइ साउदी अरेबियाको भ्रमणमा गएको भन्दै पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो ।
साउदीको पर्यटकदूत रहेका मेस्सीले गत साता आफ्नो भ्रमणबारे टिम मेट र क्लबसंग माफी पनि मागेका थिए । यसअघि भएको ट्रोयजविरुद्धको खेलमा मेस्सीलाई समावेश गरिएको थिएन । मेस्सी गत सोमबार अभ्यासमा फर्किएका हुन् ।
पीएसजीको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । मेस्सी पीएसजी छोड्ने मनस्थितिमा छन् । रोयटर्सलाई मेस्सीको नजिकको स्रोतले बताएअनुसार साउदी अरेबियन क्लब अल हिलालबाट उनलाई औपचारक प्रस्ताव आएको छ । पीएसजीसंगको सम्झौता यसै समरमा सकिँदैछ ।