
मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहाका ३९ वर्षीय दिनेशकुमार माझी सडकमा निर्माणको काम रोक्नु पर्ने माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् ।
माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।
उनले आफनो मागलाई वेवास्ता गरिए आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन । माझी शनिबार बिहान ५ बजे विद्युत्को पोलमा चढेको वडाध्यक्ष पंकज चौधरीले जानकारी दिए । उनी हाइटेन्सन लाइनको पोलमा चढेको ११ घण्टा भैसकेको छ ।
उनी दुहबीबाट झापाको दमकतिर गएको एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको टावरमा चढेका हुन् । माझीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत आएर आफ्नो माग सुनाइ हुने वातवरण बनाए मात्र आफू पोलबाट उत्रिने बताए ।
वडाध्यक्ष चौधरीका अनुसार बुढीगंगा ७ को वडा कार्यालयदेखि दक्षीण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग छ । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।
हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवकलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीहरुले प्रयास जारी राखेका छन् । सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका छैनन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष व्यक्तिगत कामका लागि धनकुटा कार्यक्रममा गएको बताइएका छन् । उनीहरुलाई विहानै जानकारी गराएको वडाध्यक्षले जानकारी दिए ।

