
मधेस प्रदेशको तत्कालीन मन्त्रीमण्डलमा सहभागी सबैभन्दा ठूलो दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेतृत्वको सरकार संकटमा परेको छ ।
दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी जनमतलाई जसपाले हटाउन खोजिरहेको छ । नेतृत्व परिवर्तनको पक्षमा देखिएको नेपाली कांग्रेस र लोसपासँग जनमत पार्टी अहिले नजिक छन् ।
तत्कालीन केन्द्रीय गठबन्धनअनुसार नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्रलगायत दलको समर्थनमा गत पुस २९ गते दोस्रो कार्यकालका लागि जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार गठन भयो । केन्द्रीय राजनीति परिवर्तनसँगै सरकारबाट बाहिरिएको झन्डै डेढ महिनापछि एमालेले समर्थन पनि फिर्ता लियो । त्यसपछि बनेको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार पनि ४ महिना नबित्दै संकटमा परेको छ । यही विषयलाई लिएर मधेस प्रदेश सरकारको नेतृत्वको माग गरिरहेको कांग्रेसले मुख्यमन्त्री यादवलाई संसद्बाट विश्वासको मत लिन दबाब दिन थालेको छ ।
नेकपा एमालेले आफ्नो समर्थन फिर्ता लिएसँगै निश्चित रुपमा अहिलेको सरकार अल्पमतमा परेको नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको तर्क छ ।
हुन त गुण र दोषका आधारमा सरकारबाहिर बसेर कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीलगायतले वर्तमान सरकारलाई समर्थन दिएका थिए । तर, सरकार गठनका बेला मन्त्रिपरिषद्मा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
सुरुमा सबै दलको मत वर्तमान सरकारको समर्थनमा परे पनि पछि आएर सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएको हुनाले अहिलेको सरकारले पुन: विश्वासको मत लिनुपर्ने नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष बलराम सुवेदी बताउँछन् । उनी भन्छन्, ‘संवैधानिक व्यवस्थाका आधारमा पनि र नैतिकताका आधारमा पनि मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने हुन्छ ।’
केन्द्रीय गठबन्धनमा सहभागी रहे पनि मधेस प्रदेशका मुख्यमन्त्रीलगायत जसपाका मन्त्रीहरुले आफूहरुलाई कुनै वास्ता नगरेको, नीति तथा कार्यक्रम र बजेट निर्माणलगायत गतिविधिमा सहभागी नगराएको भन्दै कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादीलगायत दलले असन्तुष्टि जनाउँदै आएका छन् ।
मधेस प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपा १८, जनमत १३, लोसपा ९, माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी दल ७ र स्वतन्त्र ३ जनाका साथै नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक-एकजना सदस्य छन् ।