
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको अरोप लगाएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही दोषीले उन्मुक्ति नपाओस् र कोही निर्दोष नफसोस् भनेर खबरदारी गरिरहेको समेत बताए । निर्दोष फसाउने काम भएमा नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलिको अवस्था झनै भयावह हुने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा नौ स सय ७५ जनासँग पैसा उठाइएकोसमेत उनको दाबी छ ।
‘अहिले निर्दोष फसाउने प्रयास भइराखेको छ, म खबरदारी गर्न चाहन्छु । दोषी उम्काउने, निर्दोष फसाउने ? यस प्रकारका प्रयास नगर्दा हुन्छ । यो गर्दा यो कुरा भोलि अझ भयावह रुपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिँदैन, त्यो फुत्त निस्किहाल्छ । नौ सय ७५ जना मान्छेसँग पैसा उठाइएको छ, चानचुने कुरा हो ?’– उनले प्रश्न गरे ।
अहिलेसम्म एक लाख १३ हजार तीन सय ७ जना भुटानी शरणार्थी थर्ड कन्ट्री सेटलमेन्ट भएको उनले बताए । अहिले नेपालमा ६ हजार सात सय ५५ भुटानी शरणार्थी बाँकी रहेको उनको भनाई छ । नेपालमा बाँकी रहेकामध्ये पनि चार सय २९ को कार्ड बनिसकेको उनको दाबी छ । आफू प्रधानमन्त्री भएको बेलामा उक्त चार सय २९ जनाको छानविनको लागि मन्त्रिपरिषद्को मातहतमा समिति बनेकोसमेत उनले स्मरण गरे । त्यसपछिको सरकारले सूची परिवर्तन गरेर नक्कलीलाई भुटानी शरणार्थी बनाएर पठाएको उनको आरोप छ ।
‘मेरो समयमा केही पनि गएको छैन । छानविन गर्नुस् । त्यो समितिले प्रस्ताव पठाएछ । मैले अध्ययन गर्न भनेर होृल्ड गरेर राखेँ । त्यसलाई अध्ययन गर्नका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाएँ । मलाई त पिङ खेलाएको खेलाई हुनुहुन्थ्यो । कागजतिर हेर्ने समय पनि थिएन त्यसबेला ।’ उनले थपे, ‘त्यो ओरिजिनल, खास भुठानी शरणार्थी नै थिए ४२९ जना । त्यसपछि कागज फेरियो, माथिको कभर चाहिँ उही राखियो, तलको व्यक्तिहरुको सूची चाहिँ परिवर्तन गरियो । परिवर्तन गर्ने को हो ? बुझ्न पर्दैन ? परिवर्तन गर्ने खोजौं न ।’
उनले आफू गृहमन्त्री, परराष्ट्र मन्त्री र पटक–पटक प्रधानमन्त्री भएको बेलाको भ्रष्टाचारको छानविनका लागि उनले आग्रह गरे । एमाले सधैभरि भ्रष्टाचारको विरोधमा रहेको उनले बताए । एमालेको नाम लिन मन लागेकै भरमा गाली नगर्न पनि उनले आग्रह गरे । एमालेलाई गाली गरेर नक्कली भुटानी शरणार्थी प्रकरण पार नलाग्ने उनको भनाई छ ।
‘एमालेको नाम लिन रहर लागेको छ, एमालेलाई गाली गर्न रहर लागेको छ, केपी ओलीलाई गाली गर्न रहर लागेको छ भनेर रहर गर्नुमात्रै, पार लाग्दैन । म चुनौतिका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्र मन्त्री भएँ प्रधानमन्त्री भएँ । पटक पटक प्रधानमन्त्री भएँ । छानविन होस्, छानविन गरियोस्, हामी सधैं भ्रष्टाचारको विरुद्धमा छौं, भ्रष्टाचारको छानविन होस् भन्ने पक्षमा छौं । कोही पनि दोषी छुट्न हुँदैन,’– उनले भने ।