
गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको (गागा)मा २५ सशस्त्र प्रहरी पुर्याएर बिओपी स्थापना गरिएको छ । सो स्थानमा एक हेलिप्याड समेत बनाएर सशस्त्र प्रहरी बल सिमा सुरक्षार्थ रहेका छन् ।
नेपालले असहमती जनाए पनि भारतले एकतर्फी रुपमा बिओपिको ठिक अगाडी, खोला पारिबाट सडक निर्माण प्रकृया भने रोकेको छैन । हाल बिओपी स्थापनाको लागी सशस्त्र प्रहरी बल अस्थाई शिविर बनाएर बसेको छ ।
भारतले मानसरोवर जोड्ने सडक नेपाली भुमीमा बनाएपछी , के पि ओली नेतृत्व सरकारले नेपाल भुमीमा भारतले गरेको कार्यको लागी भारतिय राजदुतलाई बोलाएर कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । तत्पश्चात नेपाल सरकारले भारतलाई सिमा सम्बन्धी छलफलको लागी आव्हान नगरेको होईन, तर भारतले बारम्बार उक्त भुमीलाई आफ्नो दाबी गरेको छ ।
भारतले नेपाली भुमी अतिक्रमण गरेपछी नेपाल सरकारले संविधान संशोधन गरी नेपालको छुटेका भुभाग समेटेर नयाँ राजनैतिक नक्शा जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट बहुमतले पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण हिजो (बिहिबार)गरेकी छिन् ।
संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो।
विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ । विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १३० सञ्चालनमा ल्याइएको छ ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् । छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ ।
दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु करीब ८० किमी र छाङरुबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ । कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्छ ।

सो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले विशेष कुराकानीका क्रममा छाङ्रुमा बिओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुशी भएको, उनीहरुले सुरक्षित महसुश गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरु गाउँ फर्कन थालेको बताए ।
बजेट विनियोजनपछि छाङ्रुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरु गरिसकेको छ । सरकारले भवन निर्माणका लागि रु ११ करोड बजेट छुट्याइसकेको छ । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो ।
भिडियो स्रोत:एजेन्सी